मन्थली नगरको ‘स्वस्थ मिर्गौला स्वस्थ मन्थली’ अभियानः आधा लाखको मिर्गौला परीक्षण
रामेछाप– मन्थली नगरपालिकाले नगरबासीहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । नगरपालिकाले ‘स्वस्थ मिर्गौला स्वस्थ मन्थली’ अभियान अन्तरगत नगरमा रहेका झण्डै साँढे ५१ हजार नगरवासीको निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो । नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा ६ वर्ष भन्दा माथी उमेर भएका सबै नागरिकको ‘डिपिस्टिक कीट’ को प्रयोग गरेर […]

रामेछाप– मन्थली नगरपालिकाले नगरबासीहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । नगरपालिकाले ‘स्वस्थ मिर्गौला स्वस्थ मन्थली’ अभियान अन्तरगत नगरमा रहेका झण्डै साँढे ५१ हजार नगरवासीको निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो ।

नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा ६ वर्ष भन्दा माथी उमेर भएका सबै नागरिकको ‘डिपिस्टिक कीट’ को प्रयोग गरेर निःशुल्क मिर्गौला परीक्षण गर्न लागिएको बताएको हो ।
मिर्गौला परीक्षणबाट मिर्गौलामा समस्या भए नभएको यकिन हुने भएकाले समस्या भएकालाई उपचा गर्न अनुरोध गर्ने र समस्या नभएकालाई आफ्नो मिर्गौला स्वस्थ राख्न नियमित परीक्षण गराउनु पर्ने रहेछ भन्ने जनचेतनाको लागि अभियान थालिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताए ।
‘स्वस्थ मिर्गौला स्वस्थ मन्थली’ नाम दिएको अभियान मार्फत नगपालिका भित्र रहेका सरकारी स्वस्थ्य संस्था, मन्थलीमा रहेका नीजि संस्थ्य संस्था, गाउँघर क्लिनिक, खोप केन्द्र लगायतका उपयुक्त ठाउँमा अभियान संचालन गरिने पौडेलले बताए ।
नगरवासीको मिर्गौलाको अवस्था कस्तो रहेछ भनेर परीक्षण गरे समस्या देखिए उपचारमा पठाउने र स्वस्थ रहे पुनः परीक्षण गर्नु पर्ने रहेछ भन्ने जनचेतना जगाउनको लागि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिर्गौला परीक्षणको कार्यक्रम समावेश गरेर उक्त अभियानको थालनी गर्न लागिएको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले बताए । नगरले निःशुल्क प्रारम्भिक मिर्गौला परीक्षणको लागि पाँच लाख बजेट विनियोजन गरेको र नपुग भए थप बजेटको व्यवस्था गरेर पनि अभियान पूरा गरिने नगर प्रमुख बस्नेतको भनाई रहेको छ ।
विगत लामो समय देखि मिर्गौला बचाऔँ अभियानमा सक्रिय रहेका मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले ‘डिपिस्टिक कीट’ को प्रयोग गरेर निःशुल्क मिर्गौला परीक्षण गरिने र त्यसले मिर्गौलाको अवस्थाबारे थाहा हुने हुँदा यो आभियान सफल हुने दावी गरे । मिर्गौलामा रोग लाग्न दिनु भन्दा रोग लाग्न नदिनु नै मिर्गौला रोगबाट बच्ने उत्तम उपाय भएकाले यो अभियानमा सबैले भाग लिनु पर्नेमा डा. काफ्लेको जोड छ ।
डा. काफ्लेका अनुसार नेपालमा हाल करिब ३० लाख नागरिकको मिर्गौलामा समस्या छ । त्यसमध्ये करिब ३० हजार जनाको मिर्गौला बिग्रेको छ भने प्रत्येक वर्ष ३ हजार मिर्गौलाका विरामी थपिइरहेका छन ।
‘डिपिस्टिक कीट’ को प्रयोग गरेर निःशुल्क मिर्गौला परीक्षण गराउँदा प्रतिव्यक्ति करिब ५० रुपैयाँ खर्च हुने नगरपालिकाले बताएको छ ।




